संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृध्दिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी २०७२ साल असोज ३ गतेका दिन नेपालको संविधान जारी भइ हाल कार्यान्वयनमा छ । नेपालको सविधानको धारा ५६ को उपधारा (१) बमोजिम नेपालको मूल संरचना तीन तहको हुनेछ र राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यसै संविधान बमोजिम प्रयोग गर्नेछन् भन्ने व्यवस्था संविधानको धारा ५६ को उपधारा (२) मा स्पष्ट व्यवस्था भएको छ ।
सोही संवैधानिक व्यवस्था र अधिकार बमोजिम संघ तह, ७ वटा प्रदेश तह र ७५३ वटा स्थानीय तहमा राज्यको पुनःसंरचना भएको छ । राज्यको पुनःसंरचना अनुसार प्रदेश नं. ३ मा १३ वटा जिल्लाहरु र यस अन्तरगत ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका र ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिकाहरु गरी कुल ११९ वटा स्थानीय तहहरु छन् । नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णय अनुसार यस बागमती प्रदेश (नं. ३) मा ७ वटा मन्त्रालयहरु स्थापना भइ कार्य संचालन भइरहेका छन् जस मध्ये भौतिक पूर्वाधार विकास मन्त्रालय एक हो ।
प्रदेश सरकार,बागमती प्रदेश (नं. ३) (कार्यविभाजन) नियमावली, २०७४ को नियम ५ र अनुसूची-२ बमोजिम २६ बुँदामा भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्य जिम्मेवारीहरु तोकिएका छन् । साथै भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने निर्देशनालय, कार्यालयहरुको समेत छुट्टा छुट्टै कार्य विवरण सहित त्यहाँ रहने दरवन्दी समेत स्वीकृत भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने यस पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुख नेपाल इन्जिनियरिङ्ग सेवाको सिभिल/जनरल/उपसमूहका (प्रा.) अधिकृत नवौ / दशौं श्रेणीका सि.डि.ई सहित जम्मा १७ जनाको दरवन्दी रहेको छ । कार्यालयको कार्य जिम्मेवारीहरु तपशिल बमोजिम रहेका छन्:
कार्य जिम्मेवारी:
प्रदेश अन्तगर्त भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका सडक, पूल जस्ता पूर्वाधारहरुको योजना तर्जुमा, कार्यान्वयन तथा संचालन एवं मर्मत संभार सम्बन्धि कार्य ।
सडक, पूल जस्ता पूर्वाधार सम्बन्धि आयोजनाहरुको विस्तृत इन्जिनीयरीङ्ग सर्वेक्षण तथा विस्तृत आयोजना सम्बन्धिकार्य ।
पूर्वाधार आयोजनाहरुको अनुगमन मूल्यांकनसम्बन्धि कार्य ।
निर्माण सामग्रीहरुको गूणस्तर परीक्षण प्रयोगशाला व्यवस्था सम्बन्धि कार्य ।
पूर्वाधार आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धिकार्य ।
पूर्वाधार विकास प्रक्रियामा प्राकृतिक प्रकोप न्युनिकरणका उपायहरु खोजी गर्ने सम्बन्धि कार्य ।
अन्तराष्ट्रिय प्रचलन अनुरुप आफ्नो कार्यछेत्र भित्रका सार्वजनिक स्थानमा सडक सुरक्षा सम्बन्धिकार्य ।
यस कार्यालयको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र सामान्य प्रशासन सम्बन्धि कार्यहरु।
भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पुर्वाधार निर्देशनालय, बागमती प्रदेशले तोकिए बमोजिमको अन्य कार्य ।